जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको जिम्मेवारी हेरफेर गरीएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेशमा स्वीकृत दरबन्दी विपरीत समूह तथा उपसमूह नमिल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृतलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि प्रयोगशालामै कार्यरत राम प्रसाद ओझा निमित्त निर्देशक रहेकोमा उनको जिम्मेवारी खोस्दै मन्त्रालयले दरबन्दी विपरीत आठौँ तहको वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारलाई खटाएको छ ।
दरबन्दी विपरीत मन्त्रालयले मनलाग्दी गरेपछि मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सुदूरपश्चिम प्रदेश समिति र सरकारी प्रयोगशालाकर्मी संघ नेपाल सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल)लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको जिम्मेवारी विषय विज्ञलाई नदिइएको प्रति आफूहरूको आपत्ति रहेको मेलान सुदूरपश्चिम प्रदेशका सचिव माधव प्रसाद जोशीले बताए ।

‘कोरोना महामारीका बखत सोको निदान, नियन्त्रण तथा रोकथामका लागि निभाएको भूमिका होस या रोग निदानमा आधुनिक चिकित्सा पद्धतिको मेरुदण्डको रूपमा रहेको क्षेत्र प्रयोगशाला हो । यसमा कुशल प्रशासकका रूपमा विषय विज्ञ हुनु आवश्यक छ भन्ने कुराको जानकारी गराउँछौँ’ मेलानका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारी द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल)ले आफू मन्त्रालयमा नयाँ भएको र यहाँ भएका समस्याहरू बारे ब्रिफिङ लिएर संस्थागत सुधारका निम्ति चाडै समस्याहरू समाधान गर्ने बताएका छन् ।


