आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन र सोको कार्ययोजना, २०८१ प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विश्वव्यापी रूपमा बढ्दो अवस्थामा रहेको आत्महत्या नेपालमा पनि जटिल सामाजिक समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसले व्यक्ति तथा परिवारलाई मात्र नभई समग्र समाज तथा देशलाई नै विविध दृष्टिकोणबाट असर पार्ने गरेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले तथ्याङ्क विश्लेषणको आधारमा आत्महत्या न्यूनीकरणको लागि समयमा प्रभावकारी कदम चाल्न नसकिएको खण्डमा स्थिति अझ भयावह हुने तथ्यलाई मनन गरी देशव्यापी रूपमा शोध अध्ययन गरी कार्ययोजना समेत तयार भएको बताउनुभयो । आत्महत्या न्यूनीकरणका क्षेत्रमा भावी रणनीति तर्जुमा तथा कार्यदिशा तय गर्न प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।