अत्तरिया – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले गोदावरीका मेयरले दिएको धम्कीपूर्ण अभिव्यक्ति सच्याउन आग्रह गरेको छ । महासंघले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारमाथि असहमति भए त्यसको समाधानका लागि कानुनी प्रक्रिया अपनाउन सचेत गराउँदै उक्त आग्रह गरेको हो ।
प्रदेश अध्यक्ष योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा मेयर भट्टको अभिव्यक्तिको निन्दा गर्दै मिडियामा प्रकाशित विषय वस्तुबारे असहमति भए कानुनी प्रक्रिया अपनाउन भनिएको छ ।
मेयर भट्टले अत्तरिया अनलाइनले बिहीबार प्रकाशित गरेको समाचारका विषयमा धम्कीपूर्ण अभिव्यक्ति दिँदै ‘म मेयरको पदमा छु जिम्मेवार पदमा छु । मैले बिर्सिन नपरोस् की म मेयर हो । पत्रकार साथीहरूले पनि आफूले नराम्रो काम नगर्ने कहिलेकाहीँ वहाँलाई पनि हामीले यो पत्रकार हो भनेर चाही बिर्सनुपर्ने अवस्था नआओस्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
अत्तरिया अनलाइनले बिहीबार ‘गोदावरीको निःशुल्क शव वाहनले शव बोकेबापत लियो २ हजार शुल्क’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार गलत भएको भन्दै मेयर भट्टले धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।