सुदूरपश्चिम प्रदेश सरकार आजबाट बजेट शून्यतामा गएको छ । गत असार १ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष ०८१/८२ को विनियोजित बजेट सोमबार राति १२ बजेसम्म प्रदेश सभाबाट पास नहुँदा सरकार बजेट होलिडेतर्फ पुगेको हो ।
तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए । तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन ।
असार १ गते आएको बजेटमा असारको २० गतेसम्म छलफलसमेत भएन । सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन ।
एमालेले समर्थन फिर्ता लिएपछि, उसले आफैंले ल्याएको बजेट पास नहुने भएको हो । अहिले एमाले बजेट पास हुन नदिने पक्षमा छ । सुदूरपश्चिममा जेठको २८ गतेमात्रै मन्त्रिमण्डल विस्तार भएको थियो । असार २८ गते आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले त्यसको तीन दिनपछि बजेट प्रस्तुत गरेका थिए ।