मानव सभ्यताको अन्त्य कसरी होला ? पृथ्वीका अन्तिम मानवका संघर्षहरू के–के हुँदा हुन् ? जलवायु संकटले पृथ्वीको स्वरूप कस्तो बनाइदेला ? बढ्दो जलवायु संकटबीच मानव सभ्यता कहाँ पुग्ला ? जलवायु संकटलाई बेवास्ता गरे भावी पुस्ताले कस्ता परिस्थितिको सामना गर्नुपर्ला ? सर्वनाम थिएटरमा मञ्चित ‘पूर्णविराम’मा जलवायु संकटले ल्याउन सक्ने मानवीय दुर्दशा कल्पना गर्दै त्यसको असर प्रस्तुत गरिएको छ । र, भनिएको छ– जलवायु परिवर्तनलाई असर पार्ने मानवीय गतिविधि बन्द नगर्ने हो भने मानव सभ्यताकै इतिहासमा पूर्णविराम लाग्नेछ !
सुरज पराजुलीको लेखन तथा आरुष मगरको परिकल्पना र निर्देशन रहेको ‘पूर्णविराम’ले जलवायु संकटमा मानव सभ्यताले सामना गर्ने यस्तै विभिन्न परिस्थिति समेट्दै विश्वव्यापी बहसको विषय उठान गरेको छ । नाटकमा जलवायु संकटले ल्याउने विषम परिस्थितिको भयावहलाई मञ्चमा प्रस्तुत गरिरएको छ । प्रकृतिबिनाको मानव जीवन, सास फेर्नकै लागि गर्नुपर्ने संघर्ष, पानीको हाहाकार अनि त्यही संघर्षबीच हुने शक्तिको प्रदर्शन (राजनीतीकरण) मिसाउँदै ‘पूर्णविराम’ले मानव जातिको गतिविधिमाथि प्रश्न गरेको छ ।