नवलपुर सदरमुकाम कावासोतीमा छोराले हानेको ढुंगाले लागेर बाबुको मृत्यु भएको छ ।
कावासोती नगरपालिका –५ ठकुरीचोकका १८ वर्षीय छोरा निराजन कुमालले हानेको ढुंगाले लागेर ४३ वर्षीय बाबु प्रेम कुमालको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
डिएसपी पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो । प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो ।
सोही विषयमा झगडा हुँदा निराजनले बाबुमाथि ढुंगा प्रहार गरेको डिएसपी पौडेलले बताए । उनका अनुसार ढुंगा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले कुटपिट गर्ने निराजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।