महेन्द्रनगर – कञ्चनपुरमा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । भन्सार कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ५९ करोड ६९ लाख सात हजार राजस्व सङ्कलनको लक्ष्य लिएकोमा ५४ करोड ४१ लाख ७९ हजार राजस्व सङ्कलन गरेको हो । जुन लक्ष्यको ९ प्रतिशत कम हो ।
यद्यपि भन्सार कार्यालयले अघिल्ला आर्थिक वर्षभन्दा बढी राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष ०७९/०८० मा ५८ करोड ९६ लाख ४८ हजार राजस्व सङ्कलन लक्ष्य भएकोमा ४२ करोड ९९ लाख नौ हजार अर्थात् ७१.४० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७८/०७९ मा ५२ करोड ७७ लाख ६० हजार लक्ष्यमा ४६ करोड २२ लाख ४३ हजार राजस्व सङ्कलन भएको थियो ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत एवं सूचना अधिकारी तेजबहादुर रावलले भन्सार कार्यालयको सक्रियता, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सुरक्षा निकायको सक्रियताले भन्सार राजस्व वृद्धि भएको बताए । उनले भन्सार विभागले अन्दाजका भरमा लक्ष्य तोकिदिने भएकाले कहिलेकाहीँ लक्ष्य भेट्टाउन समस्या हुने गरेको बताए ।