धनकुटा —धनकुटामा भएको दुई वटा सवारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ । सहिदभुमि गाउँपालिका-६ ठुलोगाउँमा भएको ट्र्याक्टर दुर्घटनामा स्थानीय ४० वर्षीय बलीमान राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान तीन बजे छिन्ताङबाट हिलेतर्फ जाँदै गरेको प्र.१–०२–००३ त ५८३ नंको ट्र्याक्टरमा सवार राईको ज्यान गएको हो । ट्र्याक्टरबाट खसेका राईलाई चक्काले किच्दा उनको घटनास्थलमा नै ज्यान गएको प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए ।
ट्र्याक्टरका चालक दिपराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको धनकुटा जिल्ला अस्पतालमा बुधबार पोर्ष्टमार्टम गरिएको छ
यस्तै, धनकुटा नगरपालिका-४ देब्रेबासमा बुधबार दिउँसो २ः२० बजे पाख्रीबास व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमका कर्मचारी सवार कार दुर्घटना भएको छ । जिल्ला प्रशासन कार्यालयमा हुने बैठकमा सहभागी हुन कर्मचारी चढेको को २ च १३४१ नं को कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।
कार उच्च अदालत विराटनगर धनकुटा इजलाश अगाडिको घरको ट्यांकीमा ठोक्किएर सडकबाट करिब २५ मिटर तल खसेको छ । कार चालक मनिषकुमार ठाकुर सहित तीन कर्मचारीको अवस्था सामान्य रहेको जनाईएको छ ।