रामेछापबाट सिन्धुली हुँदै चार ट्रक खयर तस्करी गरेर सुनसरी ल्याइएको खुलेको छ ।
प्रशासनको ठाडो आदेशमा नियन्त्रणमा लिइएका ति ट्रकबारे छानबिन थालिएपछि काठ तस्करीको विषय बाहिर आएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार सम्बन्धित जिल्लाबाट ट्रकलाई छोडपुर्जी दिँदा परिमाणमा कैफियत पाइएपछि अनुसन्धान थालिएको थियो ।
धरानमा रहेको सूर्य कत्था उद्योगको नाममा काठ लोड गरी ल्याइएका ती ट्रक नियन्त्रणमा लिई वन कार्यालय सुनसरीलाई अनुसन्धानको जिम्मा दिइएको प्रजिअ तिवारीले बताए ।
छानबिनका क्रममा अवैध खयरको काठ धेरै भेटिएको बताउँदै प्रजिअ तिवारीले टाँचा लगाएको भन्दा ठूलो संख्यामा काठका मुडा भेटिनुले संगठित मिलेमतोको सम्भावना देखिएको बताए ।
सुनसरी प्रशासनका अनुसार नियन्त्रणमा लिइएका ट्रकको हकमा वन कार्यालय रामेछापले १५ सय लकडीमा टाँचा लगाइएको भनी छोडपुर्जी दिइएको थियो । अनुसन्धानको क्रममा गणना गर्दा भने २ हजार ७ सय ३३ वटा भेटिएको थियो ।
उक्त परिमाणका काठ बा प्र ०१००६ख२१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ख००९५ र क प्र ०२००१ख०४१९ नम्बरका ट्रकमा रामेछापबाट लोड गरी सुनसरी ल्याई पु¥याइएको प्रशासनले जनाएको छ ।
प्रशासनले उक्त काठ तस्करीमा सुरक्षा निकायदेखि वन कार्यालयसम्मकै संलग्नता रहेको आशंका गरेको छ । सुनसरी प्रशासनले नियन्त्रणमा रहेका ट्रक र चालक सहितको हकमा कानुन बमोजिमको कारबाही हुने जनाएको छ ।