कुनै पनि स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनुका साथै जीवनयापन र वातावरणमा प्रतिकूल अवस्था विपत्ले ल्याउँछ । वास्तवमा विपत् यस्तो अवस्था हो, जसले व्यक्तिलाई निस्सहाय बनाई व्यक्तिको दैनिक जीवनलाई नै अवरुद्ध बनाइदिन्छ । भूकम्प, आगलागी, डढेलो, बाढीपहिरो, सुनामी, ज्वालामुखी, प्रकोप, युद्ध, आतङ्क, चोरीडकैती, दुर्घटना आदि विपत्का उदाहरण हुन् । कतिपय अवस्थामा विपत् मानवीय लापर्बाहीका कारणले पनि हुने गरेको पाइन्छ । उदाहरणका लागि जथाभाबी आगोको प्रयोग गरेमा आगलागी वा डढेलोको विपत् आइलाग्छ । नदी किनार तथा भिरालो जमिन अतिव्रmमण गरेमा बाढीपहिरोको समस्या आउन सक्छ । सावधानीपूर्वक सवारीसाधन नचलाउँदा दुर्घटनाको सिकार हुनु पर्छ । खानपान र सरसफाइमा ध्यान नदिँदा रोग पैmलिएर प्रकोपकै रूप लिन्छ । विपत्लाई प्राकृतिक र मानवीय गरी दुई भागमा विभाजन गर्न सकिन्छ । प्रकृतिले ल्याउने विपत् प्राकृतिक हुन् भने मानवको अज्ञानता, कमजोरी वा लापर्बाहीले हुने विपत् मानवीय हुन् ।
प्राकृतिक विपत्बाट नेपालमा बर्सेनि धेरै जनधनको क्षति हुने गरेको छ । प्राकृतिक विपत्मा बाढी, पहिरो, असिना, अतिवृष्टि, अनावृष्टि, हिमताल विस्फोट, भूस्खलन, आँधीबेरी, हुरीबतास, शीतलहर, चट्याङ, भूकम्प, डढेलो आदि हुन् । मानवीय व्रिmयाकलापबाट पृथ्वीमा उपलब्ध स्रोतसाधनलाई अत्यधिक दोहन गर्दा वा दुरुपयोग गर्दा पनि यस्ता विपत् बढ्न सहयोग पुग्छ । द्वन्द्व, अनिकाल, माहामारी, दुर्घटना, आगलागी, विषाक्त ग्यास चुहावट, रसायन वा विकिरण चुहावट, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण आदि विपत् मानवका कारण उत्पन्न हुन्छन् ।
विपत्को प्रमुख प्रभाव भनेको जनधनको क्षति नै हो । शारीरिक चोटपटक, मानसिक पीडा, खेतीयोग्य जमिन नाश हुनुका साथै पूर्वाधारमा समेत यसले ठुलो क्षति गर्छ । पशुपन्छी तथा खाद्यान्नको अभाव भई भोकमरीको अवस्था पनि भोग्नुपर्ने हुन्छ । विपत्कै कारण पारिस्थितिक प्रणालीमा समेत ठुलो असर पर्छ । संसारभर अहिले योजनाविहीन विकास, अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण, गरिबी, महामारी आदि कारणले पनि मानवले विपत्को सामना गर्नु परेको छ ।