धनगढीः कैलालीको धनगढीमा अटो रिक्साहरुको उपमहानगरले उचित व्यवस्थापन गर्ने भएको छ।
विद्यूतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको उपमहानगरपालिकाले उचित व्यवस्थापन गर्न आवश्यक तयारी अघि बढाएको छ। उपमहानगर क्षेत्रभित्र चल्ने विद्युतीय रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने तीन पाङ्ग्रे अटो रिक्साको रुट तथा संख्या निर्धारण गरिने भएको छ।
साथै उपमहानगरपालिकाले रिक्सा सञ्चालनको अनुमति पत्र नवीकरण, खारेजी र गुणस्तर समेत निर्धारण गर्ने भएको छ। विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन ऐनअनुसार भाडा दर निर्धारण नियमन र व्यवस्थापन गर्न उपमहानगरले काम थालेको छ।
रिक्सा परीक्षण गर्न सुरू
धनगढी उपमहानगरपालिकाले अटो रिक्सा व्यवस्थापन गर्दैछ। उपमहानगर क्षेत्रभित्र सञ्चालन हुने सम्पूर्ण अटो रिक्साको रुट निर्धारण, अनुमति पत्र नवीकरण तथा खारेजी, गुणस्तर र भाडा दर निर्धारण गरिने भएको छ। २०७९ पुस २५ मा नगर सभाबाट पारित भएको विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन र व्यवस्थापन सम्बन्धी ऐन, २०७९ अनुसार धनगढी उपमहानगरपालिकामा दर्ता भएका रिक्साहरूको परीक्षण गर्न ३५ दिने सूचना समेत निकालिएको उपमहानगरको यातायात शाखा प्रमुख ओमप्रकाश बुढाले बताए।


