काठमाण्डाै –बङ्गलादेशलाई हराउँदै भारत एसीसी महिला एशिया कप टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको खेलमा बङ्गलादेशलाई १० विकेटले हराउँदै भारत उपाधि नजिकै पुगेको हो ।
बङ्गलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा १ विकेट पनि नगुमाई भेटायो । भारतकी स्मृति मन्धानाले ५५ र शफाली वर्माले २६ रन बनाइन् ।
यसअघि श्रीलङ्काको दम्बुलामा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनायो । बङ्गलादेशकी कप्तान निगर सुल्तनाले सबैभन्दा धेरै ३२ रन बनाइन् । भारतकी रेनुका सिंह र राधा यादवले समान ३ विकेट लिइन् ।
सन् २००४ देखि शुरु भएको प्रतियोगितामा भारत हरेक संस्करणको फाइनलमा पुगेको छ । यस अवधिमा भारत सात पटक उपाधि जित्दा एक पटक उपविजेता बनेको छ । सन् २०१८ को फाइनलमा भारत बङ्गलादेशसँग पराजित भएको थियो ।
महिला एशिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आजै राति श्रीलङ्का र पाकिस्तान खेल्दैछन् । यो खेल दम्बुलामा बेलुकी सवा ७ बजे शुरू हुनेछ । नवौँ संस्करणको प्रतियोगिताको फाइनल खेल पर्सि आइतवार हुँदैछ ।