पोखराको विजयपुरवारिको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभई यहाँका पाइने माछाका परिकारले चर्चित छ । माछाका स्वादिला परिकारकै कारण पर्यटकीय गतिविधि बढेको यहाँका पर्यटन व्यवसायीहरूको तर्क छ ।
यहाँ आउने अधिकांश पर्यटक तालका कारणभन्दा पनि माछाका परिकार खान आउने गरेको उनीहरूको बुझाइ छ । तालमा पर्याप्त माछा पाइने भएकाले पर्यटकको रोजाइको गन्तव्य बनेको व्यवसायीहरूले सुनाए । यहाँका बेगनास, रुपालगायतका ताल र आसपासका क्षेत्रका स्थानीयहरू प्नि व्यावसायिक माछापालनमा पनि सक्रिय छन् ।
बेगनास ताल किनाराका माझीकुना, पिप्ले होस् वा ड्याम साइडलगायतका क्षेत्रमा हरेक दिन ठुलो सङ्ख्यामा पर्यटकहरू माछाका परिकार खानकै लागि आउने गरेका छन् । बेगनास तालको उत्तरी किनारास्थित पिप्ले गाउँका ४२ परिवारमध्ये अधिकांश माछामै निर्भर छन् । यहाँका ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य समुदायका छन् । बस्ती बस्नुअघि कहिलेकहीँ चलचित्र छायाङ्कन र पर्यटकको ‘क्याम्पिङ’ स्थलका रूपमा मात्र रहे पनि यो स्थान अहिले माछाका पारखीको गन्तव्य बनेको स्थानीय दी फिसरम्यान रेष्टुराँका सञ्चालक टेकबहादुर जलारीले बताउनुभयो ।
स्थानीय समुदाय झण्डै साढे पाँच दशकयता माछामै निर्भर छन् । माछा बिक्री गरेरै यहाँका अधिकांश परिवारले मासिक २० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेका छन् । पिप्लेमा माछा मारेर बेच्ने मात्र नभै माछाका परिकार खुवाउने होटेल तथा रेष्टुरेन्टका कारण यो पर्यटकहरूको माछा खान जाने गन्तव्यका रूपमा स्थापित भएको हो । पिप्ले जस्तै माछाकै कारण पर्यटकलाई आकर्षित गरेको अर्को गन्तव्य हो बेगनास तालको पूर्वी किनारछेउको माझीकुना । झण्डै एक दशक अघिसम्म खुल्ला चौर वनजङ्गलले भरिएको यो ठाउँ यतिखेर भने पर्यटकीय गन्तव्य जस्तै बनेको छ ।
केही वर्ष यता मात्रै यस स्थानको महिमा र गरिमा बढेको बताउँदै व्यवसाय जलारीले यहाँ पाइने पोलेको माछा धेरै चर्चामा रहेको बताउनुभयो । पछिल्लो समयमा सामाजिक सञ्जालका युट्युब, फेसबुक, टिकटक आदिले पनि माझीकुनाको आकर्षणलाई थप उचाइमा पुर्याएको उहाँको बुझाइ छ ।
विगत १० वर्ष यता माझीकुनामा पर्यटकीय आकर्षण बढिरहेको उल्लेख गर्दै प्रकाश गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक प्रकाश लामिछानेले यस क्षेत्रमा हाल २८ वटा होटेल तथा रेष्टुरेन्ट सञ्चालनमा आइसकेको बताउनुभयो । पछिल्लो समयमा यस क्षेत्रका व्यवसायीले पूर्वाधार निर्माणलगायतमा जोड दिएको उहाँले बताउनुभयो । पर्यटन व्यवसायलाई व्यवस्थित गर्न यहाँका व्यवसायीहरू एकजुट बनेको उहाँको भनाइ छ ।
बेगनाससँगै यहाँका रुपा, दिपाङ, खास्टे, न्युरेनी, मैदी तालहरूमा माछापालनलाई स्थानीयले जोड दिँदै आएका छन् । रुपातालमा माछाको संरक्षण र उपयोगमा जोड दिँदै रुपाताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्था क्रियाशील रहेको सो संस्थाका अध्यक्ष शिवराज अधिकारीले बताउनुभयो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उहाँले बताउनुभयो ।
यसबाट पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ । हाल उक्त सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेका छन् । उहाँले सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैङ्किङ कारोबार आदिका लागि २४ जनालाई रोजगारीसमेत दिन सकिएको बताउनुभयो । रुपातालमा पाइने माछाकै कारण सहकारीले वार्षिक करिब दुई करोड बराबरको माछा उत्पादन गरिरहेको छ । उहाँले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत करिब २५ जातका माछा पाइने बताउनुभयो । रासस