धनगढी – विभिन्न अन्तर्राष्ट्रिय महिला अधिकार सम्बन्धी दस्ताबेजहरूमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा हरूसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।महिला कानुन र विकास मञ्च को आयोजनामा धनगढी स्थित डिभोटी होटेलमा आइतबार बाट सुरु भएको अन्तरक्रिया कार्यक्रम मङ्गलवार सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेतले बेइजिङ घोषणापत्र एवं बेइजिङ कार्य योजना लगायतका विषयवस्तु प्रस्तुत गरेकी थिइन्।कार्यक्रम अन्तर्गत पहिलो दिन आइतबार बेइजिङ घोषणापत्र सँगै अन्तर्राष्ट्रिय मानव अधिकारका दस्ताबेजहरू र सिड र दिगो विकासका लक्ष्यका बारेमा छलफल गरिएको थियो ।
श्रावण १४ गति सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुर्व्यवहार महासन्धि १९०,महिला हिंसा उन्मूलन सम्बन्धी घोषणा पत्र १९९३,सिडको विशिष्ट अधिकार र राज्यको दायित्वका विषय र कार्यक्रमको अन्तिम दिन श्रावण १५ गते मङ्गलवार नेपालमा सिड को कार्यान्वयनको अवस्था,संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को प्रस्ताव नं। १३२५ र १८२० का बारेमा बृहत् छलफल भएको छ।UN Women को आर्थिक सहयोगमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरूले कार्यक्रम फलदायी र उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री लक्ष्मी विकले ऐन कानुन र महिला अधिकारका विषयमा महत्त्वपूर्ण जानकारी पाएकाले मन्त्रालयमा काम गर्न सजिलो हुने बताइन्। निर्माण भएका ऐन कार्यान्वयन नहुँदा महिला हिंसाका घटना बढिरहेको बताउँदै उनले अब आफ्नो मुख्य ध्यान ऐन कार्यान्वयनमा रहने दाबी गरिन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी निवर्तमान मन्त्री टीका थापाले विभिन्न प्रकारका महिला हिंसाका कारण पछिल्लो समय मृत्युदर समेत बढिरहेको बताइन्। कार्यक्रमबाट महिलासम्बन्धी ऐन र तिनको कार्यान्वयनको अवस्थासम्बन्धी जानकारी पाएसँगै सुदूरपश्चिममा रहेका कुप्रथा निर्मूल पार्नका लागि सशक्त ढङ्गले आवाज उठाउने निवर्तमान मन्त्री थापाले बताइन् ।
सुदूरपश्चिम प्रदेश सभा उपसभामुख कोइलीदेवी चौधरीले यिनका बारेमा जानकारी विभिन्न सन्धिका बारेमा जानकारी सँगै कानुन कार्यान्वयनको अवस्थाका बारेमा थाहा पाएसँगै प्रदेश सभामा काम गर्न सजिलो हुने बताइन्। महिलाका सवालमा केन्द्रित कार्यक्रम निकै उत्कृष्ट भएको बताउँदै आगामी दिनमा पनि कार्यक्रमहरू सञ्चालनमा जोड दिनुपर्ने उनको भनाइ छ।
प्रदेश सभा सदस्य जानकी ऐर बमले देखिएको र भोगिएको महिला हिंसाभन्दा भिन्न किसिमको हिंसाका बारेमा समेत गहिरो जानकारी पाएको बताइन्। संयुक्त राष्ट्रसङ्घले महिला अधिकार सम्बन्धी गरेका व्यवस्थाहरूको बारेमा समेत महत्त्वपूर्ण जानकारी पाएको बताउँदै उनले प्रदेश सभामा सशक्त भूमिका खेल्ने दाबी गरिन् ।
प्रदेश सभा सदस्य जुना दानी ले तीन दिने तालिम उपलब्धिपूर्ण रहेको बताइन् । महिला सम्बन्धी अधिकार र ऐनका बारेमा जानकारी पाएसँगै सुदूरपश्चिम प्रदेश सभामा पनि विभिन्न ऐन कानुन निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १३ जना महिला प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो।कार्यक्रमलाई महिला अधिकारकर्मी एवं दलित महिला अधिकार मञ्च(DWRF) कि अध्यक्ष सावित्रा घिमिरेले सहजीकरण गरेकी थिइन् ।