धनगढी,१८ साउन
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रवारको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले मार्ग प्रशस्त गरी दिएको घोषणा गरे । मुख्यमन्त्रीको विश्वासको मतका लागी बसेको प्रदेश सभा बैठकमा प्रस्ताव पेस नगरेरै सोडारीले राजीनामा घोषणा गरेका हुन् । ‘म माथि विश्वास छ भनेरै म विश्वासको मत लिन प्रदेश सभामा फेस गर्न आएको हु तर यहाँ आएर हेर्दा अवस्था विपरीत छ । प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलले मार्ग प्रशस्त गरी दिन आग्रह गरेका थिए सोही अनुसार मैले मार्ग प्रशस्त गरी दिए’,प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै सोडारीले भने ।
सोडारीले राजीनामा घोषणा गरे सँगै सभामुख भीम बहादुर भण्डारीले प्रदेश सभा नियमावली २०८० को नियम ६५ को उपनियम १ बमोजिम बैठकमा प्रस्ताव पेस गर्ने अनुमति पाएर पनि प्रस्ताव पेस नगरिएकोले उक्त प्रस्ताव स्वतह निष्क्रिय भएको घोषणा गरी प्रदेश सभा बैठक स्थगित गरेका छन् ।
प्रदेश सभा बैठक सुरु हुनु अघि नै मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन काँग्रेस र एमालेले ह्विप जारी गरेका थिए ।
मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख समक्ष राजिनामा दिए सँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागी आह्वान गर्नेछन् । नेकपा एमाले र नेपाली काँग्रेसको सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व पहिलो चरणमा काँग्रेसले गर्ने छ ।