काठमाडौं – काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल मंगलबार सम्पन्न सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । भारतले पनि श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
लिग चरणमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए । समूह चरणमा दुवै टिम एक अर्काविरुद्ध मैदान उत्रिँदा पाँच सेटमा धकेलिएको खेलमा नेपाल विजयी भएको थियो । जुन नेपालले भारतविरुद्ध हासिल गरेको हालसम्मकै पहिलो जित थियो । घरेलु समर्थकबीच नेपाल सोही नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ । नेपालका लागि निरुता ठगुन्नाले जारी प्रतियोगिताभर शानदार प्रदर्शन गरेकी छन् । उनी यस प्रतियोगितामा नेपालका लागि सर्वाधिक अंक बटुल्ने खेलाडी समेत हुन् ।
फाइनल खेल अघि दिउँसो २ बजे तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।