धनगढी – सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा आज तीज पर्व मनाइँदै छ । यस समुदायमा श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने गरिन्छ । रानाथारु समुदायका महिलाले आफ्नो दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने चलन छ ।
तीजको दिन महिला दिदीबहिनीहरु दिनभरि व्रत बस्ने र पूजाआजा गरेर सिमही पुरी गुलगुला, पकौडा, पपरा लगायतका परिकार खाएर रमाउने गरिन्छ । तीजमा महिलाले सामूहिक रुपमा सामनको डोला पिङ खेलेर रमाउने चलन रहेको छ । यस क्रममा परम्परागत मौलिक गीत गाइने गरेको धनगढी गाउँका भलमन्सा भज्जी रानाले बताए ।
यो समुदायका महिलाले अन्य समुदायका महिलाभन्दा अगाडि तीज पर्व धुमधामसंग मनाउने गरेका छन् । रानाथारु समुदायको तीजको अवसर पारेर धनगढी उपमहानगरपालिकाको कार्यालयले आज स्थानीय सार्वजनिक बिदा दिएको छ । यस्तै तिजको अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि विदा दिएको छ ।