काठमाण्डौ – चितवनको नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई वटा बस खसेर हराएको आज एक महिना भएको छ । वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस असार २८ गते शुक्रवार बिहान सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएकामा अहिलेसम्म विभिन्न ठाउँबाट २४ जनाको शव फेला पारिएको छ । घटनाको एक महिना हुँदा पनि दुई वटा बस र अरू यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । खोजी कार्य भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट समेत प्राविधिकहरूको टोली आएको थियो । साउन १३ गते भारतीय टोली फर्केसँगै पहिलो चरणको खोजी कार्य सकिएको घोषणा भएको थियो । नेपाली सुरक्षाकर्मीको टोलीले त्यही दिनदेखि दोस्रो चरणको खोजी जारी राखेको छ ।
सिमलताल दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले यही साउन २२ गते मङ्गलवार प्रतिवेदन बुझाएको छ । अध्ययन कार्यदलले नारायणगढ–मुग्लिन सडकभन्दा माथि बनेको ग्रामीण सडकका कारण सिँदुरेगैरामा थुप्रिएको लेदो र ग्रेगान अत्यधिक पानी परेपछि सडकमा बग्दै आएर बस खसालेको निष्कर्ष निकालेको थियो ।
ग्रामीण सडक बनाउँदा भरतपुर महानगरपालिकाले समग्र वातावरणीय पक्षमा ध्यान नदिएको, पहिरोले थुनिएको कल्भर्ट सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले पनि ध्यान नदिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
कार्यदलले खोजी तथा उद्धारलाई समय अनुकूल बनाउन विभिन्न औजार, उपकण र आधुनिक प्रविधि उपलब्ध हुनुपर्ने लगायतका सुझाव दिएको छ ।