यो वर्ष सार्वजनिक भैरहेका तीज गीतले विकृतिको पराकाष्ट नाघेको दर्शक तथा स्रोताले नै गुनासो गरिरहेका छन् । सामाजिक सञ्जालमा समेत तीज गीतको विकृतिको बारेमा चर्चा चलिरहेको छ ।
सामान्यतया तीजका गीतमा नारीले आफ्ना पीर व्यथा तथा वेदनाहरु समेट्ने परम्परा छ । यद्यपि, समाज जति खुला र उदार हुँदैछ, तीज गीतहरु त्यो भन्दा एक कदम अगाडि बढेर खुला हुँदैछन् ।
तीज गीतमा उच्छ्रृङ्खता बढिरहेको समयमा शुक्रवार एउटा नयाँ हिपहप शैलीको गीत सार्वजनिक भएको छ, जसमा काठमाडौं महानगरका मेयर बालेन साहलाई नै बोल बनाइएको छ ।
हुन त यो गीतकी गीतकार, संगीतकार तथा गायिका नविना सिलवाल खुइलीले यसलाई तीज गीत भनेर कतै पनि उल्लेख गरेकी छैनन्, यद्यपि अहिले तीज गीतको बाढी आइरहेको बेला अनि तीजकै पूर्व सन्ध्यामा सार्वजनिक भएकाले यसलाई तीज गीतकै श्रेणीमा राख्न सकिन्छ ।
गीतको बोल नै छ– बालेन साह जस्तो पाए पोइला गैदिन्थें।’ यो गीत यतिमै सिमिति छैन, गीतको प्रारम्भदेखि अन्त्यसम्म नै बालेनलाई समेटएिको छ । उनीसंग विवाह गर्ने, नौ महिनामा घोर्ले छोरा पाउने‘सम्मका शब्दहरु यो गीतमा समावेश गरिएको छ ।
गायिका खुइलीकै यूट्युबबाट शुक्रवार सार्वजनिक भएको यो गीतले छोटो समयमै ६४ हजार बढी भ्यूज पाइसकेको छ भने सयौंले प्रतिक्रिया जनाइरहेका छन् ।


