धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज बुधबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । साउन २० गते नियुक्त भएका मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार नै प्रदेशसभा सचिवालयमा पठाइएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत पाउन कम्तिमा २७ जना सांसदको समर्थन आवश्यक पर्छ । पछिल्लो सत्ता समीकरणमा रहेका कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीसहित प्रदेशसभामा ३६ जना सांसद रहेका छन् ।
प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् ।