धनगढीः सुदूरपश्चिम प्रदेशको बजेट पुनर्लेखन हुँदैछ। यही भदौ १२ गतेभित्र यसअघिका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट फिर्ता लिएर नयाँ बजेट निर्माणको समयसीमा निर्धारण गरिएको छ। संघीय सरकारले चालु आर्थिक वर्षका लागि २ अर्ब बढी अनुदान रकम कटौति गरेकाले बजेटको आकार घट्ने देखिएको सुदूरपश्चिम प्रदेश आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए।
अबको बजेट नयाँ पनि होइन पुरानो पनि होइन। त्यसलाई परिमार्जन गरेर ल्याउने हाम्रो तयारी छ। कतिपय योजना काट्न नपाउने छन् ती काटिदैनन्। पहिला संसदमा पेस भएको बजेट फिर्ता लिने काम हुन्छ। हामी २५ लाखभन्दा तलका कुनै पनि योजना हाल्दैनौं।’ ‘तत्कालिन मुख्यमन्त्री सोडारीको पालामा बनेको बजेट अनुमानित थियो। अब यथार्थ बजेट आउँछ।
हामीले अनुमान गरेभन्दा केन्द्रबाट २ अर्ब ३५ करोड बजेट घटेर आएकाले सोहीअनुसार बजेटको आकार निर्धारण हुनेछ’, आर्थिक मामिला राज्यमन्त्री बमले भने। चालु आर्थिक वर्ष २०८१र८२ का लागि अहिले बजेट पुनर्लेखनको काम भइरहेको छ। यही समयमा मन्त्रालयहरूमा योजना माग्नेको भीड दैनिक रुपमा बढ्न थालेको छ।