सर्पले डसेर कैलाली र डोटीमा गरी तीन जनाको ज्यान गएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा हिजो सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको ज्यान गएको हो ।
स्थानीय पाँच वर्षीया बालिका लिजा र छ वर्षीया काजल घर्तीमगरको ज्यान गएको वडाध्यक्ष आशाराम डगौरा थारूले जानकारी दिनुभयो । सर्पले डसेर बिरामी बालिकाकी हजुरआमा रिजु घर्तीमगरको बडैपुरको सर्पदंश उपचार केन्द्रमा उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ ।
यस्तै डोटीमा पनि सर्पले डसेर एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा हिजो बेलुका ज्यान गएको हो । खड्कालाई हिजो दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो ।
सर्पले डसेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल लैजाने प्रवृत्तिले सर्पको टोकाइका बिरामीको ज्यान जाने गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बताउँनुहुन्छ । सर्प काठ, इँटा वा ढुङ्गाको थुप्रो, दुलो, झाडी भएको ठाउँमा लुकेर बस्ने गर्छ । गर्मी मौसममा विशेषगरी तराईका जिल्लामा गोमन, करेतलगायतका सर्पको बिगबिगी हुने गर्छ ।