काठमाण्डौ – बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।
बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार ज्यान गुमाउनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली तथा घोराहीका विमल राई रहेका छन् ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेहरूको नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।