काठमाण्डौ –काठमाण्डौको भृकुटीमण्डमा तेस्रो नेपाल पावर लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्रदर्शनीको शुभारम्भ गर्नुभयो ।
प्रदर्शनी आजदेखि तीन दिनसम्म हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एक सय ५० भन्दा धेरै स्टल रहेका छन् । प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवम् नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्रीको स्टल रहेका छन् ।
यस्तै प्रदर्शनीमा वायर केबुल एवम् कण्डक्टर अत्याधुनिक प्रकारका स्वीच एलइडी लाइटिङ्ग इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ्ग स्टेशन ब्याट्री कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीको स्टल रहेका छन् । प्रदर्शनी मडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्यूचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा।लिले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
यसैबीच उद्घाटन समारोहमा बोल्दै उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशमा आर्थिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको दाबी गर्नुभयो । उहाँले अहिले दुई ठूला राजनीतिक दलको सरकार रहेको भन्दै यसले विश्वासको वातावरण बनेको बताउनुभयो । उहाँले देशको लक्ष्य आउँदो १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको भन्दै यसमा निजी क्षेत्रले साथ दिनुपर्ने बताउनुभयो ।