बागलुङमा गत असार, साउन र यही भदौ महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र आठ जना महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरि चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरि दुई जनाको मृत्यु भएको छ ।
यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । पहिरोमा परि २२ जना घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये सात जना बडिगाड गाउँपालिका, एक जना जैमिनी नगरपालिका र एकजना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेल बताउँछन् ।
बाढीपहिरोमा परि २२ वटा पशुचौपाया मरेको उनको भनाइ छ । बडिगाड गाउँपालिका–१० का ११ वर्षीय बालक अझै बेपत्ता रहेको पौडेलले बताए ।
जिल्लामा गत असार १५ गतेदेखि बाढी पहिरोले क्षति पुर्याउन थालेको थियो । बाढी पहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए ।
बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत जिल्लामा करिब एक सय ५० घरपरिवार प्रभावित भएको आँकलन गरिएको छ । वर्षा अझै पूर्णरुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ ।
बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बाढीपहिरोबाट यसवर्ष बडिगाडले क्षति ब्यहोर्नु परेको बताए । बाढीपहिरो प्रभावित परिवारलाई गाउँपालिकाले आवश्यक सहयोग गरि सुरक्षित स्थानमा सार्ने, खाद्यान्न वितरण लगाएको काम गरेको उनको भनाइ छ ।
पालिकाको स्रोत साधनले भ्याएसम्मको व्यवस्थापन गरेको भन्दै माथिल्लो निकायबाट सहयोगको अपेक्षा गरेको उनी बताउँछन् ।
बाढी पहिरोले वडा नं १० मा सबैभन्दा बढी क्षति गरेको भन्दै विस्थापित परिवारलाई पुनःस्थापनाका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक पर्ने अध्यक्ष अधिकारीले बताए ।