काठमाडौँ – प्रेस चौतारी नेपालले आफ्नो सङ्गठनका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले जबरजस्ती पक्राउ गर्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै चौतारीले आपत्ति जनाएको हो ।
काठमाडौँको बागबजारस्थित होटल हार्दिकबाट अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गर्न खोजेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरूले सामूहिक रूपमा प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको प्रेस चौतारीले जनाएको छ । बस्नेतविरुद्ध साइबर कानुन उल्लंघनसम्बन्धी निवेदन परेकोले सोधपुछ गर्न खोजिएको प्रहरीले जनाएको छ ।