धनगढीः कैलालीमा अविरल वर्षाका कारण कतै बस्ती डुबानमा परेका छन भने कतै विद्युत सेवा नै अवरुद्ध भएको छ।
बुधबार रातिदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन्। विहिबार दिनभर र शुक्रबार पनि वर्षा कायमै रहेपछि वस्ती डुबानदेखि ठाउँठाउँमा विद्युत सेवा अवरुद्ध हुन पुगेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ र वडा नम्बर ६ लगायतका धेरै वडामा विद्युतका पोल नै ढलेपछि विद्युत सेवा बन्द हुन पुगेको छ।
वडा नम्बर ६ मा रुख ढलेर विद्युत सेवा अवरुद्ध हुन पुगेको छ भने वडा नम्बर ५ मा विद्युतको पोल नै भाचिएपछि विहिबार रातिदेखि विद्युत सेवा अवरुद्ध छ। वर्षाका कारण धेरै स्थानमा विद्युत सेवा अवरुद्ध भएको खबर प्राप्त भए पनि एकीन तथ्यांक आइनसकेको नेपाल विद्युत प्राधिकरण अन्तर्गतको धनगढी विद्युत वितरण केन्द्रले बताएको छ।
अत्यधिक वर्षापछि भएको डुबानको जोखिममा परेपछि कैलालीको जानकी गाउँपालिकाको गिरधरपुर र फरेलाका ५१ परिवारलाई सुरक्षित स्थानमा सारिएको सम्बन्धित वडाका जनप्रतिनिधिहरूले बताएका छन्। जानकी गाउँपालिका–४ का वडाध्यक्ष दीपेन्द्रकुमार कठरियाले गिरधरपुरका ३५ घर परिवारलाई शुक्रबार बिहान गिरधरपुरमा निर्माण गरिएको सुरक्षित ठाउँमा सारिएको बताए।
यस्तै वडा नम्बर–७ फरेलाका १६ घर परिवारलाई पनि सुरक्षित भवनमा सारिएको छ।