गोरखामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक नेपाली सैनिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक सैनिक गम्भीर घाइते भएका छन् ।
गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा रिपुमर्दन गण गोरखामा कार्यरत इलामको देउमाई गाउँपालिका–२ घर भएका नेपाली सेनाका लेसनायक २५ वर्षीय सुरेन्द्र राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१क ५६५४ नम्बरको टिपरले विपरीत दिशातर्फबाट आइरहेको बा७०प २८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सोही गणमा कार्यरत नेपाली सेनाका लेसनायक सङ्खुवासभा नगरपालिका–३ खपाङका २४ वर्षीय जनम राई गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
उनलाई उपचारका लागि काठमाडौँ लगिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।