डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्लाको बेहाल भएको छ। राष्ट्रिय बिभुती अमरसिंह थापाले निर्माण गरेको किल्लाको संरक्षण तथा मर्मत–सुधारको अभावमा बेहाल भएको हो।
बाइसे–चौबिसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका हुन्। समुद्री सतहबाट किल्लाको उचाइ लगभग ६ हजार पाँच सय फिट छ। बडाकाजी थापाले निर्माण गरेको किल्लामा कलात्मक र ठूलाठूला ढुङ्गा प्रयोग गरिएका छन्। तर, अमरगढी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको बेवास्ताका कारण किल्लाको बेहाल भएको छ।
पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासन कालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सिमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो। एकीकरण अभियानको क्रममा ३१ भदौ १८४७ मा सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौज र डोटेली फौजबिच घमासान युद्ध भयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए।
तिनै अमरसिंह थापाले यस क्षेत्रको संरक्षण तथा महाकालीपारि पश्चिम काँकडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निर्माण गर्न लगाएका थिए। त्यसैले उनकै नामबाट यो अमरगढी किल्लाका रूपमा परिचित छ। काँकडा र कुमाउको अलमोडामा नेपालले हार बेहोरेपछि यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको बताइन्छ।