महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले निस्शुल्क हेल्थ डेक्स यात्रु स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ । वडादशैँ, दिपावली र छठ पर्वको अवसरमा भीमदत्त(४ महेन्द्रनगरस्थित बस पार्कमा यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले निस्शुल्क हेल्थ डेक्स सञ्चालन गरेको हो ।
मंगलबार एक कार्यक्रमकाबीच नगरप्रमुख पदम बोगटीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै हेल्थ डेक्सबाट सेवा सुरु गरिएको थियो । नगरप्रमुख बोगटीले यात्रुहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निशुल्क हेल्थ डेक्स सञ्चालन गरिएको बताए । ‘यात्रा गर्दा बाटोमा थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ उनले भने यात्रुहरुको स्वास्थ्य सुरक्षाका लागि यो हेल्थ डेक्स सञ्चालन गरिएको हो । यहाँ प्राथमिक उपचार, ब्लड प्रेसर चेकजाँच, ज्वरो चेकजाँच र आवश्यक औषधी निशुल्क उपलब्ध गराइनेछ ।
यस्तै, उनले बस पार्कको संरक्षणका लागि आफू प्रतिबद्ध रहेको बताए । नगर उपप्रमुख नीलम लेखक जोशीले बस पार्कलाई व्यवस्थित बनाउन नगरपालिकाले बजेटको व्यवस्था गरेको बताइन् । कार्यक्रममा महाकाली यातायात प्रालीका अध्यक्ष डम्मर पन्तले यात्रुहरुको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थ डेक्स स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे ।