अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ सेहरी, मुरकट्टी, धन्चौरीका स्थानीयले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका छन् । स्थानीयले सडक निर्माणको माग गर्दै विगत ४ दिन देखि वडा कार्यालयमा तालाबन्दी गरेर आन्दोलनका कार्यक्रम गर्दा पनि मेयर वीरेन्द्र भट्टले मागको बेवास्ता गरेको भन्दै आक्रोशित उनीहरूले नगरपालिका घेराउ गर्दै नाराबाजी गरेका हुन ।
वडामा तालाबन्दी गरेपछि दोस्रो पटक नगरपालिकामा पुगेका उनीहरूले मेयर नभेटिएको भन्दै उनी विरुद्ध चर्को नाराबाजी गरेका थिए । स्थानीय हेम बहादुर चन्दले मेयरले माग पुरा गर्नुको साटो अरूका कुरा सुनेर उल्टै आन्दोलन दबाउने प्रयास गरिरहेको बताए । उनले जनतालाई झोक्याएर चुनाव जितेर अहिले जनताको बेवास्ता गरिएकाले जनता आक्रोशित भएको बताए ।
स्थानीयले धन्चौरी–देवरीय, मुरकट्टी – गेटा जोड्ने सडक कालोपत्रे गरिनुपर्ने, बाटो नबनुन्जेल खुटिया नदीबाट नदीजन्य पदार्थ उठाउन रोकिनुपर्ने, बाटो निर्माण गरिदा शून्य ठाउँ वडा नम्बर ९ कायम गरिनुपर्ने, गोदावरी नगरपालिका – ९ भित्र पर्ने खुटिया नदीको सिमाना प्रस्ट रेखाङ्कन गरिनुपर्ने लगायतका माग राखेका छन् ।