चितवनमा तीनवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
बिहीबार दिउँसो चितवनको भरतपुर महानगरपालिका(२४ लक्ष्मणचोकमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित दाह्रेचोक निवासी ३७ वर्षीया रामकुमारी गुरुङको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता, डीएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनामा घाइते उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता रिजालले बताए ।
बागमती प्रदेश ०१–०२४ च ४९९३ नम्बरको बोलेरोसँग बागमती प्रदेश ०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–००१ प ८८८२ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएका थिए ।
दुर्घटनामा स्कुटर चालक सोही स्थानका ३१ वर्षका सोजन शेरचन गम्भीर घाइते भएका छन् भने मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका(२४ का ३१ वर्षका हरिशरण थापामगरको अवस्था पनि गम्भीर रहेको प्रवक्ता रिजालले जानकारी दिए ।
उनका अनुसार घाइते दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।


