कक्षा ११ र १२ को मौका परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले दिएको अवसरमा विद्यार्थीहरूको रुचि अपेक्षाकृत कम देखिएको छ। विगतका परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाहरूलाई लक्षित गर्दै बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म अनुत्तीर्ण भएका परीक्षार्थीलाई मौका परीक्षामा सहभागी गराउने व्यवस्था गरेको थियो।
बोर्डका अनुसार यस अवधिमा १४ लाख परीक्षार्थी अनुत्तीर्ण भएका छन्। तर, फाराम खुलाउँदा जम्मा २२ हजारले मात्रै आवेदन दिएका छन्। बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेले दुई पटक म्याद थप्दा पनि २१,८५३ जनाको मात्र आवेदन परेको जानकारी दिए।