धनगढी- सुदूरपश्चिममा ७ करोड २७ लाखका २ पुलको ठेक्का रुग्ण देखिएको छ।
निर्माण व्यवसायीकै कारण सो लागतका दुईवटा पुलका ठेक्का रुग्ण बन्न पुगेका हुन्। पूर्वतयारी र त्रुटिपूर्ण डिजाइनका कारण पुल निर्माणमा सोचेअनुरूप प्रगति नरहेको भेटिएको छ। सडक विभागअन्तर्गत सम्भार महाशाखाका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीले तयार पारेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी प्रतिवेदनअनुसार सुदूरपश्चिममा २ दुईवटा पुलको ठेक्का रुग्ण बनेका हुन्।
तिनको म्याद पटकपटक थप्दा पनि प्रगति सोचेअनुरूप देखिएको छैन। गलागाड डोटीमा पक्की पुल निर्माण गर्न २०७७ साल असार २१ गते निर्माण सम्झौता भयो। नेपाल मेघा सिन्से जेभीसँग २०७८ मंसिर २१ भित्र पुल निर्माण गरिसक्ने गरी ४ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको हो। तर पुल निर्माणको प्रगति ३६ प्रतिशत मात्र देखिएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै गौडाखोला बैतडीमा पुल निर्माणकै लागि २०७३ पौष १२ गते ठेक्का सम्झौता गरियो। २०७४ फागुन ३० गतेभित्र निर्माण कार्य पुरा गर्नेगरी २ करोड ७० लाखमा एमएस रफिना एण्ड कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाए पनि काम अधुरै छ। सो पुलको काम ४५ दशमलव ९७ प्रतिशत मात्र देखिएको छ। आवश्यक पूर्वतयारीको कमी, निर्माण सामग्रीसँग सम्बन्धित समस्या, निर्माण व्यवसायीको व्यवस्थापकीय अक्षमतालगायत कारण ठेक्का रुग्ण रहेको पाइएको छ।