अत्तरिया – सरकारले सुदूरपश्चिम ७ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सुदूरपश्चिमका ८ सहित देशभरका ५६ जिल्ला अध्यक्ष नियुक्त गरेका हुन ।
जसअनुसार कैलालीको अध्यक्षमा यज्ञराज उपाध्याय, डडेल्धुरामा कैलाश कुमार पाण्डेय, बैतडीमा रमेश दत्त पाण्डेय, दार्चुलामा लाल सिंह धामी, अछाममा राम आउजी, डोटीमा डम्बर बहादुर ओली र बाजुरामा जनक बहादुर रोकाया नियुक्त भएका छन् ।
सुदूरपश्चिमको बझाङ र कञ्चनपुर जिल्लाका अध्यक्षको नियुक्त गर्न बाँकी छ । गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् ।
७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७–३७ जिल्ला र ३ जिल्लामा मधेस केन्द्रित दललाई भाग लगाइएको थियो । सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुङ्गो लाग्न सकेको छैन । एमालेले पाएका मध्ये ३ र कांग्रेसले पाएका जिल्लामध्ये ३ जिल्लामा यस्तो विवाद रहेको छ ।