कैलाली – कैलालीको धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा यही माघ १९ गतेदेखि २८ गतेसम्म टी–२० फर्म्याटमा प्रतियोगिता हुने भएको हो ।
धनगढी क्रिकेट एकेडेमीमा आज भएको पत्रकार सम्मेलनमा गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले प्रतियोगितामा आठ वटा टोली सहभागी हुने र तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । डीसीए धनगढी, सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर ९सीईसी० काठमाण्डौ, फेन्ड्रस युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराइजन बुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोस्टन क्रिकेट झापा सहभागी हुने भएका छन् ।
प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ जना खेलाडी समावेश गर्न पाइनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम ए, यू–१९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यू–१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यू–१९ र यू–१६ का खेलाडी र अन्य खेलाडी रहेका छन् ।
यस वर्षदेखि नेपाल क्रिकेट सङ्घ ९क्यान० को वार्षिक क्यालेन्डरमा समावेश गराएर प्रतियोगिता आयोजना गर्न लागिएको हो । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको अर्जुन ट्रफीको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।
नकआउटका आधारमा हुने प्रतियोगिताका सबै खेल धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । फाप्ला क्रिकेट मैदानमा चार वटा पिच निर्माण भइसकेका छन् ।
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अनावरण गर्नुभयो ।