अत्तरिया: गोदावरी नगरपालिका वडा नं. १० को वार्षिक कार्य योजना अन्तर्गत श्री जानकी माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार “Book Free Friday” कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। आज एक विशेष कार्यक्रमको आयोजना गर्दै यसको औपचारिक शुभारम्भ गरिएको छ।
कार्यक्रमले किताबी ज्ञानबाहेक अतिरिक्त सीप आवश्यक भएको वर्तमान समयमा विद्यार्थीहरूलाई व्यावहारिक शिक्षामा जोड दिने उद्देश्य राखेको छ। “Book Free Friday” अन्तर्गत प्रत्येक शुक्रबार किताबबाहेकका गतिविधिहरू सञ्चालन हुनेछन्, जसले विद्यार्थीहरूलाई विभिन्न उपयोगी सीप अर्जन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष रविन्द्र शाही (गुडुु) ले शिक्षालाई कितावि ज्ञानसम्म सीमित नराखी विद्यार्थीहरूको बहुआयामिक विकासका लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । वडा अध्यक्ष शाहीले कार्यक्रममा वडाबाट ३ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए । “विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, र सामाजिक कौशललाई अभिवृद्धि गर्दै उनीहरूलाई व्यवहारिक ज्ञान दिने यो कार्यक्रमले सकारात्मक प्रभाव पार्नेछ,” उनले भने । कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार शिक्षाका अतिरिक्त खेलकुद, सांगीतिक प्रस्तुति, स्वास्थ्य सम्बन्धी तालिम, सामुदायिक सेवा, तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिने भएको बताए ।
शाहीका अनुसार यस वर्षको कार्यक्रमको प्रभाव मूल्यांकन गरी आगामी वर्ष थप बजेटको व्यवस्था गर्दै बृहत् कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । यस्तै विद्यालयका प्रधानाध्यापक रामबहादुर पार्कीले कार्यक्रममा “बुक फ्री फ्राइडे“ अन्तर्गत हरेक हप्ताको शुक्रबार विद्यार्थीसँग किताब नल्याई विभिन्न अतिरिक्त क्रियाकलाप गराइने जानकारी दिए । उनले शिक्षालाई प्राथमिकता दिँदै “केवल किताबी ज्ञान पर्याप्त हुँदैन, प्रतिस्पर्धात्मक युगमा व्यवहारिक ज्ञानलाई प्राथमिकता दिन आवश्यक छ, उनले भने ।
उनले कार्यक्रम अन्तर्गत कला, संगीत, खेलकुद, सामुदायिक सेवा, सिर्जनशील लेखन, सार्वजनिक बोल्ने सीप जस्ता गतिविधिहरू सञ्चालन हुने र यसले विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास रहेको बताए । विद्यार्थीको हौसला अभिवृद्धि गर्दै कार्यक्रममा धाइया सलानी सामुदायिक वन उपभोक्ता समितिले ३१ जना विद्यार्थीलाई झोला, कपी, पेन ,पोशाक जस्ता शैक्षिक सामग्री वितरण गरेको थियो ।
साथै विद्यालयका राष्ट्रपतिको रनिङ शिल्ड प्रतियोगितामा रजत पदक जितेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । यसले स्थानीय कला, संस्कार र संस्कृति झल्काउँदै समाज र विद्यालयबीच सकारात्मक सम्बन्ध कायम राख्न समारोहमा विद्यार्थीहरूले विभिन्न भेषभूषामा सांस्कृतिक प्रस्तुति दिएका थिए । उक्त “बुक फ्री फ्राइडे“ कार्यक्रमले गोदावरी नगरपालिकाका सामुदायिक विद्यालयहरूमा नयाँ अभ्यासको सुरुवात गरेको छ । विद्यार्थीहरूले यस कार्यक्रमलाई आफूले रुचाउने क्षेत्रमा ज्ञान र अनुभव बढाउने प्लेटफर्मका रूपमा लिने अपेक्षा गरिएको छ ।
कार्यक्रमका अवसरमा धाइया सलानी सामुदायिक वन उपभोक्ता समितिले विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक प्रदान गरेको छ। यो योगदानले विद्यार्थीहरूको अध्ययनप्रति उत्साह बढाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले धाइया सलानी सामुदायिक वन उपभोक्ता समितिका सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले अतिरिक्त सीप विकासका यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वांगीण विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा वडा कार्यालयले यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने बताए।