बझाङ — बझाङमा भालुको आक्रमणमा परेर एक महिला गम्भीर घाइते भएकी छिन । जंगलमा स्याउला काट्न गएकी खप्तडछान्ना गाउँपालिका–४ की २८ वर्षीया अंकिरा रोकाया गम्भीर घाइते भएकी हुन् ।
खप्तडछान्नाकै वडा नं ५ मा पर्ने बेडुभुवाँ जंगलमा अंकिरालाई बुधबार बिहान भालुले आक्रमण गरेको थियो । उनको शरीरका विभिन्न भागमा ठूल्ठुला घाउ लागेको घाइतेका भतिजा सुभास रोकायाले जानकारी दिए ।
उनलाई आक्रमण भएको थाहा पाएपछि सँगै स्याउला काट्न गएका महिला र साथमा रहेका कुकुरको सहयोगमा उद्धार गरिएको रोकायाले बताए । घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ ।