धनगढी- प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदूरपश्चिमको आयोजनामा डोटीको जोरायल गाउँपालिका वडा नम्बर २, बुडरमा विश्व क्यान्सर दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रवर्द्धन केन्द्रका कार्यालय प्रमुख हेमराज खड्काले क्यान्सरको रोकथाम तथा प्रारम्भिक पहिचानमा जनचेतना अभिवृद्धि आवश्यक रहेको बताए। उनले तम्बाकुजन्य पदार्थ, लागू औषध, धूम्रपान तथा मध्यपानले क्यान्सरको जोखिम बढाउने भन्दै यस्ता पदार्थको प्रयोग नगर्न सबैमा आग्रह गरे।
यस्तै जोरायल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष वीरबहादुर बलामीले क्यान्सरजस्ता घातक रोगबारे सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले स्थानीय स्तरमा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रमलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरुले क्यान्सर विरुद्धको अभियानलाई समुदायस्तरमा प्रभावकारी बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा वडाध्यक्ष, रामपुर मावि दुई बुडोरका शिक्षकसहित ३०० विद्यार्थीको सहभागिता रहेको थियो।