धनगढी: अछामको चौरपाटी गाउँपालिकाकी १२ वर्षीया बलात्कृत बालिकाको अवस्था झन जटिल बन्दै गएको छ। पेटमा ८ महिनाभन्दा बढीको गर्भ रहेकी ती बालिकाको अवस्था जटिल बन्दै गएको हो।
भारतको गुजरातमा मामा नाता पर्ने पुरुषबाटै बलात्कारको सिकार भएकी बालिका अहिले गम्भीर स्वास्थ्य जटिलताको सामना गरिरहेकी छिन्। उनलाई धनगढीको एक सेभ हाउसमा राखिएको छ। घटना सार्वजनिक भएको एक महिनाभन्दा बढी हुँदा पनि आरोपित फरारै अवस्थामा छन् भने किशोरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो। परिवारका सदस्य न्यायका लागि भौँतारिरहेका छन्।
अछामको ग्रामीण भेगकी ती बालिका रोजगारी गर्न भारत पसेका आमा बुवासँगै गएकी थिइन्। तर, उनी त्यहीँ मामा नाता पर्ने पुरुषबाटै बलात्कृत भइन्। उनीमाथि त्यहाँ धम्की दिएर पटक–पटक बलात्कार भएको बालिका नै बताउँछिन्। आफूमाथि पटक–पटक बलात्कार हुँदा पनि डर र धम्कीका कारण बालिकाले परिवारलाई घटनाबारे भन्न सकेकी थिइनन्। त्यस लगत्तै बालिकाका आमा–बुवा घर फर्किएका थिए। घरमा ती बालिकाको अस्वाभाविक रूपमा पेट बढ्न थाल्यो।