काठमाडौं । नेपाली लघु चलचित्रको क्षेत्रलाई नयाँ ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित तयार पारिएको नयाँ लघु चलचित्र ‘चुरोट : अ पफ अफ लाइफ’ को पोस्टर औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सामाजिक यथार्थ र युवाको जीवनशैलीलाई समेट्ने उद्देश्यले निर्माण गरिएको यस चलचित्रले धूम्रपानको असरमाथि सशक्त सन्देश दिन खोजेको छ।
चलचित्र सरिता लामाको निर्माणमा लिन्खा इन्टरटेन्मेन्ट प्रा.लि. र आई फिल्म प्रोडक्सनको सहकार्यमा तयार पारिएको हो।
निर्देशन पिटर प्रिन्स बि.क ले गरेका छन्। फिल्मको पोस्टरमा कालो पृष्ठभूमिमा युवकको हातमा बलिरहेको चुरोट र त्यसबाट निस्केको धुवाँ देखाइएको छ, जसले कथा गहिरो र संवेदनशील रहेको संकेत गर्दछ।
प्रमुख कलाकारहरूमा अर्जुन आचार्य, पियुष मगर, शंकर सेढाई, देव कृष्ण लिन्खा र प्रमिश भट्टराई रहेका छन्। प्रमिश भट्टराईको अभिनय पनि यस लघु चलचित्रमा उल्लेखनीय रहने निर्माण टिमले जनाएको छ। यिनका साथ सत्यम घर्ती क्षेत्री (Chief A.D.), शंकर के. उदास (DOP), रुचन चापागाईं (Assistant Cameraman) लगायतका प्राविधिक टिमले चलचित्रलाई जीवन्त बनाउने काम गरेका छन्।
निर्माण टिमका अनुसार चलचित्रलाई पहिलो चरणमा विद्यालय तथा कलेजहरूमा प्रोजेक्टरमार्फत देखाउने योजना छ, जसपछि युट्युबमा सार्वजनिक गरिनेछ। चलचित्रको ट्रेलर र प्रदर्शन मिति चाँडै नै घोषणा गरिने बताइएको छ।
धूम्रपानजस्तो संवेदनशील विषयमाथि केन्द्रित चलचित्र ‘चुरोट : अ पफ अफ लाइफ’ ले दर्शकलाई भावनात्मक रुपमा छोने र युवाबीच चेतना फैलाउने अपेक्षा गरिएको छ।