धनगढी, कैलाली । स्थानीय तहका विषयगत समितिका संयोजक तथा सदस्यहरूलाई लक्षित गरी आयोजित दुई दिने पुनर्ताजगी क्षमता अभिवृद्धि तालिम धनगढीमा सम्पन्न भएको छ। **दलित महिला अधिकार मञ्च नेपाल (मधचा)**को आयोजनामा एम्ब नेपालको आर्थिक सहयोगमा वैशाख ११ र १२ गतेसम्म तालिम सञ्चालन गरिएको हो।
गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका विषयगत समितिका संयोजक तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको तालिममा नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन प्रक्रिया तथा महिला, दलित र सीमान्तकृत समुदायका मुद्दाहरूलाई कसरी प्रभावकारी रूपमा समेट्ने भन्ने विषयमा गहिरो छलफल गरिएको थियो।
तालिमको सुरुवातमा सहभागीहरूको प्रारम्भिक परीक्षण गराइएको थियो भने समापनमा अन्तिम परीक्षणसहित सम्पूर्ण तालिमको समिक्षा गरिएको थियो। विषयगत समितिको अवधारणा, कानुनी आधार, जिम्मेवारी तथा अधिकारसम्बन्धी विस्तृत प्रस्तुति दिइएको थियो।
दलित महिला अधिकार मञ्च नेपालकी कार्यक्रम व्यवस्थापक सृजना पराजुलीले स्थानीय तहमा अझै पनि समावेशी र प्रभावकारी योजना निर्माणमा चुनौतीहरू रहेको उल्लेख गर्दै, “यस तालिमले समितिका सदस्यहरूलाई आफ्नो जिम्मेवारी बुझ्न र समुदायको आवाज उठाउन थप मद्दत पुर्याएको छ,” भन्नुभयो।
गौरीगङ्गा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष करुणा चौधरीले तालिमबाट प्राप्त ज्ञानले विषयगत समितिहरूको काम अझ स्पष्ट र प्रभावकारी बनेको बताउनुभयो।
कैलारी गाउँपालिका वडा नं. ४ का अध्यक्ष ठागुराम चौधरीले “विकास योजनामा महिला, दलित र सीमान्तकृत समुदायका सवाललाई प्राथमिकता दिनुपर्ने कुरालाई तालिमले झन् मजबुत बनाएको छ,” भन्दै आगामी योजनामा अझ बढी सचेत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिममा कानुनी विषय विशेषज्ञ पुष्प विक्रम शाहीले विषयगत समितिको संरचना, कार्यशैली र अधिकारसम्बन्धी प्रस्तुति दिनुभएको थियो। सहभागीहरूले यस्ता तालिमहरू स्थानीय तहमा समावेशी र उत्तरदायी शासन प्रणाली विकासका लागि आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।