धनगढी – आज देखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा देशभरीबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङ÷मुस्ताङमा १÷१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।
जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन् । नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौंकेन्द्रित सडक आन्दोलनले वैशाख ११ देखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।
परीक्षामा सुदूरपश्चिमबाट ५० हजार ६ सय ५४ जना विद्यार्थी सहभागी हुँदै छन् । यस्तै कैलालीमा १९ हजार ९ सय १५ जना परीक्षार्थी सहभागी हुँदै छन । कैलालीमा १ सय ३५ माध्यमिक तहका विद्यालय रहेको कैलालीमा ४७ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परिक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कैलालीका शाखा अधिकृत रामदत्त भट्टले जानकारी दिए ।
परीक्षा मर्यादित र व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा १० जना सुरक्षाकर्मीसमेत खटाइसकेको भट्टले जानकारी दिए । परीक्षा बिहान ८ बजेबाट सुरु भएर ११ बजे सकिनेछ ।