काठमाण्डौ – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डौमा गरेको आर्थिक वर्ष २०८२/०८३ को पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले अर्थतन्त्रलाई लयमा फर्काउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने र रोजगारी सिर्जनासँगै लगानीकर्तालाई आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो ।
सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आर्थिक सुधार सुझाव आयोग गठन गरेर अर्थतन्त्रका समस्या समाधान गर्ने प्रयास गरिरहेको उहाँको भनाइ छ । निजी क्षेत्रले दिएका सुझावलाई सम्भव भएसम्म सरकारले ध्यान दिने पनि उहाँले बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान बनाउन बजेटबाट गर्न सकिने सम्बोधन बजेटका माध्यमबाट र कानूनका माध्यमबाट सम्बोधन गर्न सकिने विषयहरु कानून निर्माण गरेर वा संशोधनका माध्यमबाट गर्ने बताउनुभयो ।