धनगढी – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले भूमिहीनलाई लालपुर्जा वितरणको प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
बिहीबार नगरपालिकाको वडा नम्बर १ को वडा भेलालाई सम्बोधन गर्दै उनले भूमि आयोगको कार्यालय नै गोदावरीमा राखेर लालपुर्जा वितरण प्रक्रिया हिजो अस्तिबाट सुरु भइसकेको बताएका हुन ।
उनले भने ‘सम्भवतः वडा नम्बर १ को पृथ्वी नगर टोलबाटै लालपुर्जा वितरणको काम सुरु हुन्छ ।’
उनले यसअघि राजश्व धेरै भएकाले लालपुर्जा वितरणको काम रोकिएकाले अब राजश्व घटेर आएको बताए । ‘राजश्व अति धेरै भएको भन्दै घटाउने कुरा आएको थियो । त्यसपछि हामी यसलाई घटाउन लागेका थियौ । गोदावरी सबैभन्दा पहिलो नगरपालिका हो जो भूमि आयोगमा गएर यो धेरै भयो राजश्व घटाउनु पर्छ भनेको’ उनले भने ‘२ देखि २ सय प्रतिशत सम्म रहेको राजश्व अहिले घटेर खेतीयोग्यको हकमा ५ प्रतिशत, आवासीयमा १० प्रतिशत भएको छ ।’
उनले अन्तिम पटकको लागि अझै कोही छुटेको भए पुनः ३५ दिने सूचना जारी हुने बताए ।