काठमाण्डाै – मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने भएको छ । सडक खण्डमा पर्ने ४ वटा पुलमा आरसीसी बिम राख्ने काम बिहान सकिएकोले आज रातिदेखि आगमन खुला हुने भएको हो ।
भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गएको जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम भएको थियो ।
यस्तै पृथ्वी राजमार्गको नैबिसे–मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले याे सडक खण्ड भने आज र भोलि राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।
मुग्लिन–मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा ८ किलोमिटर सडक कालोपत्र भएको छ ।