धनगढी- जुलाई महिनाको पहिलो शनिवार विश्वभर मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवस सुदूरपश्चिम प्रदेशमा पनि उत्साहपूर्वक र भव्य रूपमा मनाइएको छ।
धनगढीस्थित सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रका उपलब्धि, समस्या, चुनौती र भविष्यका सम्भावनाहरूबारे विस्तृत समीक्षा र अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा विभिन्न सहकारी संस्थाहरूले आफ्नो अनुभव, सफलताको कथा, समस्या र सुधारका सुझावहरू प्रस्तुत गरेका थिए । उनीहरूले सहकारी क्षेत्रलाई थप मजबुत बनाउन नीतिगत स्पष्टता, आर्थिक सहयोग, प्रविधिमा पहुँच, र जनशक्ति विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहकारी क्षेत्रको वार्षिक समीक्षा रिपोर्ट प्रस्तुत गरिएको थियो । त्यसपछि भएको खुला छलफलमा सहकारकर्मी, सरोकारवाला, सङ्घसंस्थाका प्रतिनिधिहरूले दिगोपन, पारदर्शिता, बजेटको अभाव, सूचना प्रविधिको उपयोग, दक्ष जनशक्तिको आवश्यकतालगायत विषयहरू उठाएका थिए ।
सहकारीहरूको विश्वसनीयता र दीर्घकालीन सफलताका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको सहकारीकर्मीहरुको धारणा रहेको थियो ।
प्रदेश बचत तथा ऋण सहकारी सङ्घ सुदूरपश्चिमका अध्यक्ष माधव जोशीले सहकारकर्मीहरूलाई अझ लगनशील र प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले सहकारी क्षेत्रमा अपार सम्भावना रहेको बताउनु भयो । सहकारी प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको भए पनि प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीबाट सहकारी क्षेत्रमा आवश्यक बजेट र नीतिगत सहयोग प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो गर्नुभयो ।
सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढीका रजिस्ट्रार भुवन जोशीले सहकारीहरूको सशक्तीकरण र व्यवस्थापन सुधारका लागि कार्यालय सधैँ साथमा रहेको बताउनु भयो ।
“सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्षको हातेमालो जरुरी रहेको बताउँदै रजिस्ट्रार जोशीले सहकारीप्रति मन्त्रालयको सकारात्मक दृष्टिकोण रहेकाले आगामी दिनमा सहकारी मैत्री थप कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो ।
१०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको यो विशेष अवसरले सुदूरपश्चिम प्रदेशमा सहकारीको वास्तविक अवस्था प्रस्तुत गर्नुका साथै भविष्य निर्माणको स्पष्ट बाटो देखाएको सहभागीहरूको निष्कर्ष थियो।
कार्यक्रममा सहकारकर्मीहरूको उत्साहजनक सहभागिता, साझा धारणा, र सहकार्यको भावना देखिएको थियो। कार्यक्रमको सञ्चालन नेप्सकोनकी सञ्चालिका दीप्ति शाहीले गर्नुभएको थियो ।