कञ्चनपुर। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ बेदकोट नगरपालिका, कञ्चनपुरमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ मनाइएको छ। आज असोज ३० गते (१६ अक्टोबर २०२५) मा नगरस्तरीय खाद्य अधिकार सञ्जाल र याक नेपाल (YAC Nepal) को संयुक्त आयोजनामा प्रभातफेरी र अन्तरक्रिया सम्पन्न भएको हो।
स्थानीय नागरिक समाजका अगुवा, कृषि ज्ञान केन्द्र, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा भएको प्रभातफेरीमा ‘खाद्य अधिकार मौलिक अधिकार हो’, ‘सबैका लागि पोषणयुक्त खाना’ जस्ता प्लेकार्डसहित सहर परिक्रमा गरिएको थियो।
दिउँसो भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय नागरिक समाजका अगुवा लगायत खाद्य सञ्जालका प्रतिनिधि, विभिन्न महिला समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ‘खाद्य अधिकार मौलिक अधिकार हो’, ‘पोषणयुक्त खाना सबैको पहुँचमा पुऱ्याऔं’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रभातफेरी गरेका थिए ।
नगर स्तरीय खाद्य अधिकार सञ्जाल बेदकोटका संयोजक एवं कार्यक्रमका अध्यक्ष राम चन्द पन्तले स्वस्थ र सुरक्षित खानाको महत्त्वमाथि प्रकाश पार्दै हरेक नागरिकलाई खाद्य सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको दायित्व भएको बताउनुभयो।

स्वागत मन्तव्य सँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै याक नेपालका महासचिव हृदय पुजाराले खाद्य सुरक्षा र पोषणमा सुधार ल्याउन जनचेतना र नीतिगत वकालत आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तहबाटै खाद्य अधिकार सुनिश्चित गर्ने प्रयासको प्रशंसा गर्नुभयो।
उहाले खाद्य अधिकारको व्यावहारिक कार्यान्वयनमा जोड दिनुभयो।
“खाद्य अधिकार कागजी कुरा होइन, यो जीवनको आधार हो। दीर्घकालीन समाधानका लागि उत्पादन वृद्धि, पौष्टिक खानामा पहुँच र खाद्य अधिकारको पूर्ण सुनिश्चिततामा सबै सरोकारवालाको साथ अपरिहार्य छ,” महासचिव पुजाराले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका कार्यपालिका सदस्य कृष्णराम भुलले नगरपालिकाले ‘गरिब घर परिवारलाई सहज खाद्यान्न उपलव्ध गराउन विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिँदै नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाले खाद्य सुरक्षा सुनिश्चित गर्न र विपन्न नागरिकलाई राहत दिन पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
खाद्य अधिकार परियोजनाको अवस्थाबारे प्रस्तुति दिँदै याक नेपालका परियोजना अधिकृत विनोद सिंहले स्थानीय तहमा खाद्य सुरक्षा र पोषण सुधारका लागि सञ्जालले गरिरहेको प्रयासको जानकारी दिनुभयो।
सिंहले विश्व खाद्य दिवसको ऐतिहासिक पृष्ठभूमि र खाद्य अधिकार सबलीकरण परियोजनाले स्थानीयस्तरमा गरिरहेका कार्यहरूको प्रस्तुतीकरण दिनुभएको थियो।
कार्यक्रममा बोल्दै मान बहादुर चौहान (बोर्ड सदस्य, याक नेपाल) ले खाद्य अधिकार सुनिश्चितताको लागि निरन्तर पहल गरिने बताउनुभयो। त्यस्तै, वडा नं. ३ का स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज पन्तले स्वस्थ जीवनका लागि पौष्टिक आहारको महत्त्वमाथि प्रकाश पार्नुभयो।
रामविर कृषक समूहका सदस्य कृष्ण बहादुर चन्द, खाद्य अधिकार सञ्जाल बेदकोटका सह-संयोजक इन्द्रा डगौरा, लालझाडी सञ्जाल संयोजक ज्योति राना र बसन्तथला संघर्ष समितिका संयोजक नबराज भटट लगायतका वक्ताहरूले कृषि, पोषण र भूमि अधिकारको सवाललाई खाद्य अधिकारसँग जोड्दै स्थानीय सरकारलाई थप सशक्त कार्यक्रम ल्याउन आग्रह गर्नुभएको थियो।
(विभिन्न वक्ताहरूको भनाइ)
कृष्ण बहादुर चन्द (सदस्य, रामविर कृषक समूह, बेदकोट ३): कृषि र खाद्य उत्पादनमा किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।
इन्द्रा डगौरा (सह-संयोजक, खाद्य अधिकार सञ्जाल बेदकोट): महिला र सीमान्तकृत समुदायको खाद्य अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
ज्योति राना (संयोजक, खाद्य अधिकार सञ्जाल लालझाडी): छिमेकी पालिकामा भइरहेका खाद्य अधिकारका पहलहरू प्रस्तुत गर्नुभयो।
नबराज भटट (संयोजक, बसन्तथला संघर्ष समिति, बेदकोट ३): स्थानीयस्तरमा भूमि र खाद्यान्नको न्यायोचित वितरणको माग गर्नुभयो।
नरेन्द्रराज पन्त (स्वास्थ्य शाखा प्रमुख, वडा नं. ३): स्वस्थ जीवनका लागि पोषणयुक्त खाना अपरिहार्य रहेको बताउनुभयो।
याक नेपालका महासचिव पूजाराको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन याक नेपालका परियोजना अधिकृत सर्जु चौधरीले गर्नुभएको थियो।


