विश्वको सबैभन्दा ठूलो परिवारका रुपमा लिइने भारतको पूर्वोत्तर राज्य मिजोरमको एक परिवारका मुली अर्थात प्रमुखको निधन भएको छ।
परिवारका मुली जियोना चानाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनका ३८ श्रीमती र ती श्रीमतीहरुबाट ८९ सन्तान रहेको उल्लेख छ।
मधुमेह तथा हाइपरटेन्सनका बिरामी चानाले आइतबार अन्तिम स्वास लिएका हुन्। समाचार संस्था पीटीआईले उनको उपचार भएको अस्पतालका निर्देशक लालरिङ्टलुआङ्ग झाउलाई उद्धृत गर्दै लेखेको छ, ‘तीन दिनदेखि उनलाई वक्तावंग गाउँमा रहेको घरमै उपचार गरिएको थियो। तर अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको थियो, चिकित्सकहरुले उनलाई मृत घोषित गरे।’
विश्वको सबैभन्दा ठूलो मानिने चानाको परिवार मिजोरमको पहाडी गाउँ वक्तावंग तलंगनुममा बस्दै आएको छ। यो परिवार चार तलाको १०० कोठा युक्त घरमा बस्छ। यो परिवारलाई मिजोरमको पहिचानका रुपमा पनि लिने गरिन्छ। मिजोरम पुग्ने पर्यटकहरु यो परिवारको घरमा जाने गरेका छन्।
जियोना चानाको निधनप्रति मिजोरमका मुख्यमन्त्री जोरामथाङ्गले ट्वीटमार्फत दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार चानाले १७ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए। उनी चुआन्थर सम्प्रदायका प्रमुख पनि थिए। सन् १९४२ मा हमावंगकान गाउँबाट निकालिएपछि उनका हजुरबुवा खुआङ्गतुहाले यो सम्प्रदाय गठन गरेका थिए।
त्यही बेलादेखि यो परिवार आइजोलबाट झण्डै ५५ किलोमिटरको दूरीमा रहेको वक्तावंग गाउँमा बस्दै आएको छ। यो सम्प्रदायमा झण्डै ४०० परिवार छन्। यो सम्प्रदायका पुरुषहरुलाई एक भन्दा बढि विवाह गर्ने छुट छ।