धनगढीका विभिन्न क्षेत्रमा ह्वील चेयरको सहयतामा पुगेर डायरीमा केही टिप्दै गरेको अवस्थामा भेटिन्छन्, भवानी ऐर । पेशाले उनी पत्रकार हुन् ।
सरकारी स्वामित्वको ब्रोडशिट दैनिक पत्रिका गोरखापत्रमा उनले धनगढीबाट रिपोर्टिङ गर्ने गरेका छन् ।
शारीरिक अशक्तताका बावजुद पनि सशक्त कलम चलाउँदै आएका भवानीलाई देख्दा उनले विगतमा भोगेको दर्दनाक दुर्घटना र संघर्षको कथा जो कसैले अनुमान समेत लगाउन सक्दैन ।
करीब ४५ वर्षअगाडि फर्कौं !
डडेल्धुराको अजयमेरुको एक गरीब परिवारमा २०३२ साल भदौ ११ गते एक बालकको जन्म भयो ।
घरको अवस्था निकै नाजुक थियो । छाक टार्न पनि भारतकै भर पर्नुपर्ने बाध्यताका बीच दुई दाजुपछि तेस्रो सन्तानका रूपमा जन्मेका उनको नाम भवानी राखियो ।
भवानीका बुवा भारतमा रोजगारी गर्थे, उनी जन्मेको ७ महिनापछि उनका बुवा रोजगारीका लागि फेरि भारत गए ।
गाउँघरमा (खेतीपाती) निकै सङ्घर्ष गर्दै उनकि आमाले उनलाई ६ वर्षको हुने बेला स्कूल पठाइन् । सानैबाट जिज्ञासु स्वभावका भवानी कक्षामा प्रथम हुँदै गए ।
निकै गरीब परिवारका उनलाई स्कुलको फिस तिर्न पनि निकै समस्या पथ्र्यो । विभिन्न बाधा अड्चनका बीच पनि उनले गाउँकै सात कक्षासम्म पल्लो गाउँको स्कूलमा अध्ययन गरेका उनले उग्रतारा मावि डडेल्धुराबाट एसएलसी पास गरे ।
७ महिनाको हुँदा बुवाले छोडे, १६ वर्षपछि मुख देखेँ
उनी हुर्कँदै १६ वर्षको भए तर ७ महिनाको हुने बेला कमाउनका लागि भारत गएका उनका बुवा एक पटक पनि गाउँ फर्केनन् । ‘बुवासँगै काम गर्न भारत गएकाहरूले तेरो बुवा त भारतमा जोगी बनेर बसेका छन् भन्थे’, उनले भने, ‘यो बुवा त म दुई वर्षको हुने बेला नै जोगी बन्नु भएको रहेछ । बाल्यकालमा बुवाको काख र साथ मैले पाइन ।’
‘मेरी आमाले निकै संघर्ष गर्दै हामी तीन जना दाजुभाइ र घर व्यवहार समाल्नुभयो’, उनले थपे, ‘मेरी आमा नभएको भए अथवा उहाँले छोडेर गएको भए हाम्रो बिचल्ली हुन्थ्यो । आमाले हामीलाई अनाथ बन्न दिनुभएन ।’
‘बुवा जोगी बनेर कैलालीको गोदावरी धाममा बसेका छन् भन्ने सुनेपछि हामी बुवालाई भेटेर घर फर्काउन सबै परिवार घर छरछिमेकि त्यहीँ पुग्यौ । मैले एकैचोटी १६ वर्षको उमेरमा बुवाको मुख देखें’, उनले भने, ‘तर बुवाले हामीले भनेको मान्नुभएन उहाँ हामीसँग घर जानुभएन ।’
एसएलसी पास गरेका भवानीलाई उच्च शिक्षा हासिल गर्न धनगढी आएर पढ्न मन थियो तर आर्थिक अभावका कारण उनको घरबाट उनलाई धनगढी पठाउन सक्ने अवस्था थिएन । तर भवानीको जिद्दीका अगाडी केही सिप लागेन । अन्ततः उनी धनगढी पढ्न आउने भए ।
धनगढीमा तीन जना साथीहरू मिलेर एक कोठा भाडामा लिए । मेरो घरबाट धेरै ढिला अनि थोरै पैसा आउँथ्यो’, उनी विगत सम्झिँदै भन्छन्, ‘साथीहरूले निकै सहयोग गरे ।’
दुःखका बीच उनले धनगढीबाट ‘प्लस टु’ गरेपछि थप शिक्षा आर्जनका लागि काठमाडौं गए ।
व्यापारी बन्छु सोचेका उनी पत्रकार भए
सानोमा भविष्यमा के बन्छु भन्ने सोच थियो तपाईंको रु लोकान्तरकर्मीको प्रश्नमा मुसुक्क हाँस्दै उनले भने, ‘स्कूल पढ्दा सरहरूले भविष्यमा के बन्ने रु भनेर सोध्नु हुन्थ्यो । मैले त्यहाँ एक जना व्यापारी देखेको थिएँ मलाई पनि व्यापारी बन्ने रहर जागेर आएको थियो ।
सायद कमजोर आर्थिक स्थितिको परिवारमा जन्मेकाले पनि होला मलाइ व्यापार गरेर धेरै पैसा कमाएर ऐस आरामले बस्ने सोच आउँथ्यो’, उनले भने, ‘परिस्थिति ठीक उल्टो भयो पढ्नका लागि धनगढी आएपछि मैले व्यापार गर्ने नसोचेको हैन तर त्यसको लागि पनि लगानी लगाउन म सँग आर्थिक अवस्था राम्रो थिएन ।’
धनगढीबाट १२ कक्षा पास भइसकेपछि उनी अवसरको खोजीमा र स्नातक तह अध्ययनका लागि काठमाडौं गए । काठमाडौंको आरआर क्याम्पसमा इन्ट्रान्स दिएका उनको त्यहाँ नाम निस्किएन । त्यसको विकल्पमा उनले त्रिचन्द्र क्याम्पसबाट स्नातक गरे ।
‘अध्ययनकै क्रममा मलाई पनि राजनीतिको हावा लाग्यो’, उनले भने, ‘माओवादी पार्टी प्रति आस्था बढ्दै जान थालेपछि नेता तथा कार्यकर्तासँग चिनजान बढ्न थाल्यो । माओवादी निकटका केही पत्रकारहरूले जनआदेश नामको पत्रिका डिल्लीबजारमा निकाल्दा रहेछन्, त्यहाँ मैले पनि रिपोर्टरको रूपमा काम पाएँ ।’
‘पहिलोपटक पत्रिकामा आफ्नो नाम आउँदा निकै खुसी लाग्यो, ’ उनले भने, ‘त्यहाँबाट फेरि पत्रकारिता तर्फ अग्रसर हुन पाएँ । मैले अध्ययनलाई त पूरा गर्न सकिनँ । २०५८ सालदेखि माओवादी प्रतिबन्धित भयो । भातृसंगठनहरू माथि पनि धरपकड भयो । म पनि त्यसपछि काठमाडौं छोडेर धनगढी फर्किएँ ।’
‘त्यसपछिको द्वन्द्वकालमा पनि हामीले पत्रिका निकाल्न छाडेनौ । जनयुद्धपछि २०६२ सालमा धनगढीमा ‘सेम आवाज’ भन्ने पत्रिका सञ्चालनमा आयो । त्यहाँ पनि म रिपोर्टरको रूपमा रहेँ । केही समयपछि पत्रिका प्रकाशन धनगढीमा बन्द भयो र मेरै नेतृत्वमा डडेल्धुराबाट यही पत्रिकाको पुनः प्रकाशन शुरू गर्यौं । रिपोर्टिङ गर्दै जाँदा २०६३ सालमा सरकारी सञ्चार माध्यम गोरखापत्रमा काम गर्ने सौभाग्य मिल्यो’, उनले भने, ‘अहिले पनि गोरखापत्रमै कार्यरत छु ।’
अनि शरीरको एक भागले काम गर्नै छोड्यो..
गोरखापत्रमा काम गर्न थालेको दुई वर्ष भएको थियो । २०६५ असोज २ गते पश्चिम सेती जलविद्युत परियोजना चल्ने चर्चाको गोरखापत्रमा रिपोर्टिङ गर्न भवानी अर्का एक पत्रकारसँगै मोटरसाइकलमा डडेल्धुराबाट डोटी गए ।
तर त्यो दिन परियोजनाका सूचना अधिकारीसँग भेट नभएपछि साँझ फर्किएर गोवघाट बस्ने योजना थियो उनीहरूको, तर त्यहाँ पुग्न करिब आधा किलोमिटर बाँकी थियो, विपरित दिशाबाट आइरहेको जीपले उनी सवार मोटरसाइकललाई ठक्कर दियो ।
जीपले ठक्कर दिएर भाग्यो’, उनले भने, ‘त्यसपछिको अवस्था नाजुक छ । सडकको भित्ता तिर परेर बाँचियो, सडक छेउको तल नदी थियो त्यहाँ खसेको भए सायद बाँच्ने थिएनौं होला ।’
ठक्कर दिएको जीपमै सवार कृषि विकास कार्यालय दार्चुलामा कार्यरत एक कर्मचारीले जीपले मोटरसाइकललाई ठक्कर दिएको खबर प्रहरीलाई गरिदिएछन् । त्यसपछि त्यही जीपसहित प्रहरी घटनास्थलमा पुगेछन्, म त बेहोस भएछु’, उनले भने, ‘बाहिरी शरीरमा चोट देखिँदैन थियो । मोटरसाइकलको पछाडि सवार भाइ पनि घाइते भए । त्यहाँको स्थानीय अस्पतालमा सामान्य उपचारपछि हामीलाई डडेल्धुरा रिफर गरिएछ । डडेल्धुरामा पनि उपचार सम्भव भएन त्यसपछि मलाई धनगढी रेफर गरियो । तर बाटोमा पहिरो गएका कारण दुई दिनपछि मात्रै म अत्तरिया पुगेछु ।
‘धनगढीभन्दा बरेली ठिक हुन्छ भन्दै मलाई उपचारका लागि त्यहाँ लगिएछ’, उनले थपे, ‘२२ दिनसम्म मलाई होस् आएन, त्यतिन्जेल के भयो मलाई थाह भएन, मेरो होस आउँदा म अस्पतालको बेडमा थिए । टाउकोमा गम्भीर चोट भएका कारण मेरो अपरेसन हुन नसक्ने डाक्टरले बताए । त्यतिखेर मेरो शरीरको बायाँ भागले काम गर्न सकेको थिएन । शरीरको एक भागमा चिमट्दा पनि केही थाहा हुँदैनथ्यो’, उनले भने, ‘मलाई सास फेर्न पनि निकै गाह्रो भइरहेको थियो, घाँटीमा प्वाल पारेर सास फेर्न मिल्ने बनाइएको थियो । त्यहीँ प्वालबाट खाना खुवाइन्थ्यो, मुखबाट मेरो बोली समेत आउन सकेको थिएन ।’
‘दुई महिनासम्म घाँटीकै प्वालबाट सास फेरेर बाचेँ, त्यत्तिखेर मेरो पुरै मुख पनि बाङ्गो भइसकेको थियो । दुर्घटना भएको झन्डै दुई महिनापछि म बोल्न सक्ने भएँ । डाक्टरले अब बिस्तारै हातखुट्टाले पनि काम गर्न सक्छ भनेका थिए । तर त्यसको झन्डै १२ वर्ष बित्यो अहिले पनि मेरो शरीरको एक भागले काम गर्दैन’, उनले भने, ‘अहिले बैसाखी र ह्वील चियरको सहायताले दैनिकीलाई सहज बनाइरहेको छु ।’
डाक्टरको सल्लाह बमोजिम तीन वर्षसम्म औषधि सेवन गरेका उनले उपचारमै भएको सम्पति पनि बेच्दै २६ लाख बढी खर्च गरे ।
उपचारपछि पुनः पनि पहिलाकै अवस्थामा फर्किन्छु कि भन्ने आशले उनी नेपालका अधिकांश अस्पताल धाए तर अन्ततः केही सीप नलागेर यही अवस्थामा आफ्नो दैनिकि चलाइरहेका छन् ।
कहीँबाट आर्थिक सहयोग पाए अझै पनि उपचार गरेर ठिक हुन्छु कि भन्ने आश भने उनमा अझै छ ।
कर्म कहिले छोडिनँ
सवारी दुर्घटनामा परी कष्टकर जीवन जिउनुपर्ने बाध्यतामा रहँदा पनि उनले आफ्नो पत्रकारिता प्रतिको धर्म भने निभाइ नै रहेका छन् । अचेल पनि उनी गोरखापत्रको लागि धनगढीबाट रिपोर्टिङ गर्छन् ।
‘पहिला जस्तै खोजमूलक समाचारका लागि अहिले पनि रिर्पोटिङमा जान त सक्दिनँ तर, जानै पर्ने अवस्था आएमा बैसाखी र ह्वील चियरको सहायताले गइरहेको हुन्छु’, उनले भने, ‘सवारीको चाप हुँदा त निकै गाह्रो हुन्छ, पेसाले पत्रकार भएपछि अपाङ्ग भइसकेपछि मलाई पहिला र अहिले गर्ने व्यवहार निकै फरक हुन्छ । पहिलाका साथी आफन्तहरूले साथ छोडे, अहिले काम पर्दा मात्रै सम्झिन्छन्’, उनले दुःखेसो पोखे ।
शरीरको एक भागले काम गर्न छोडेपछि २०७० सालदेखि यता केही समय उनले बैसाखीकै भरमा हिँडडुल गरे । ‘बैसाखीकै भरमा रिपोर्टिङ गर्न पनि जान्थेँ’, उनले भने, ‘२०७४ सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट ह्वील चियर पाए अहिले केही हद सम्म सहज भएको छ ।’
उनी अहिले गोरखापत्रमा मात्रै काम गरिरहेका छैनन् । धनगढीमा एक मिडिया हाउस खोलेर केहीलाई रोजगारी पनि दिइरहेका छन् । उनी भन्छन्, ‘शरीरले साथ नदिए पनि मेरो परिवारको खम्बा म नै हुँ । मैले नै परिवारको सम्पूर्ण खर्च बेहोर्नुपर्छ ।’
धनगढी ३ विशालनगरमा बसिरहेका भवानीको श्रीमती र दुई छोरी गरी ४ जनाको परिवार छ ।